वीरगञ्ज नगर क्षेत्रका अव्यवस्थित तार हटाइँदै
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य बजार क्षेत्रमा अव्यवस्थित तारका कारण बजारको स्वरूप नै कुरूप भएपछि नगरपालिकाले अव्यवस्थित तारलाई व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएसँगै अहिले तार व्यवस्थापनमा सरोकारवाला निकाय जुटेका छन् ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहितको टोलीले गत शुक्रबारदेखि अव्यवस्थित तार हटाउने कार्यलाई निरन्तरता दिएका हुन् ।
पहिलो चरणमा वीरगञ्जको आदर्शनगर र मेनरोडको अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम शुरु भएको छ । जथाभाबी टाँगिएका तारका कारण नगरको सौन्दर्यता बिग्रिनुका साथै दुर्घटनाको सम्भावना समेत देखिएकाले व्यवस्थित गर्न पटक पटक प्रयास गरे पनि सम्भव नभएपछि एक साताअघि कडा निर्देशन सहित महानगरपालिका कारबाहीमा उत्रिएको थियो ।
महानगरका नगरप्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन सेवा प्रदायक संस्थाहरूलाई कडा निर्देशन दिएपछि सरोकारवाला संस्थाहरूले नगर क्षेत्रको अव्यवस्थित तारलाई व्यवस्थित बनाउन थालेको बीरगञ्ज महानगरपालिकाका आइटी शाखाका प्रमुख बृजेश प्रधानले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्