सल्यानमा टिमुर उत्पादन घट्यो
सल्यान । सल्यानमा यस वर्ष मसलेदार फल टिमुरको उत्पादन घटेको छ । उत्पादन घटे पनि टिमुरले बजार मूल्य भने राम्रो पाएको छ । टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयमा पानी नपर्दा उत्पादनमा कमी आएको हो ।
बनगाड कुपिण्डे नगरपालिका ९ सेरा गाउँबाट मात्र गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताउनुभयो । नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उहाँको भनाई छ । गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेको बताउँदै उहाँले यस वर्ष २० किलो पुग्न पनि गाह्रो भएको बताउनुभयो ।
बारीमा टिमुर नै नफलेपछि यस वर्ष टिप्न नै नगएको अर्का किसान पूर्ण बहादुर बुढाले बताउनुभयो । गत वर्ष १० क्विन्टल बिक्री गर्नुभएका बुढाले यस वर्ष निकै कम टिमुर फलेकाले टिमुर टिप्न बारीमै नगएको बताउनुभयो । टिमुरबाट वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आए पनि यस वर्ष भने एक हजार जुटाउन पनि धौ धौ भएको उहाँले बताउनुभयो ।
मसला र आयुर्वेदिक औषधीको रुपमा प्रयोग हुने टिमुर सल्यानको एक महत्त्वपूर्ण नगदे बालीको रुपमा रहेको छ ।
जिल्लाका सबै पालिकाका टिमुर उत्पादन हुँदै आइरहेको छ । टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म सल्यानका किसानहरूले आम्दानी गर्दै आइरहेका छन् । डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्