अर्घाखाँचीमा १९ जनाको जमानत जफत
अर्घाखाँची।गत मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा अर्घाखाँची जिल्लामा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ ।
तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नौ जना गरी १९ जनाको जमानत जफत भएको हो ।
अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयो ।
नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका हुन् । सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् ।
अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ६८ मतदाता रहेकामा ९० हजार नौ सय ८९ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्