तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँचीमा १५ जना चुनावी प्रतिस्पर्धामा

अर्घाखाँची। एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एक महिलासहित १५ जना चुनावी प्रतिस्पर्धामा छन् । 

विभिन्न पार्टीका १२ जना र तीन जना स्वतन्त्र गरी १५ जना प्रतिनिधिसभाको निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा रहेका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

अर्घाखाँची जिल्लाका नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपा र नेपाली कम्युनिस्ट पार्टी, नेकपाका उम्मेदवार जिल्लामै बसेर सङ्गठन निर्माण तथा विकास निर्माणका काम गरेका उम्मेदवार छन् । 

दलहरू घरदैलो तथा निर्वाचन केन्द्रित अभियानमा लागेका छन् । जनतालाई भेटेर आफू र आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन उनीहरू जिल्लाका गाउँ केन्द्रित अभियानमा छन् । यस क्षेत्रमा विगतदेखि नै नेकपा एमाले विजयी हुँदै आएकोले आफ्नो वर्चस्व कायम राख्ने दाउमा छ भने अरू पार्टीले पनि अहिले परिवर्तनको सन्देश दिने उद्देश्यका साथ लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपा र नेकपा पनि जित्ने दाबी गर्दै चुनावी अभियान अघि सारेका छन् । 

पहिला दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा अहिले एउटा मात्र छ । विसं २०४६ र २०५१ का निर्वाचनमा दुवै निर्वाचन क्षेत्रमा काँग्रेसले जित हासिल गरेको थियो । दुई पटक नै एकबाट रेवतीप्रसाद भुसाल र दुईबाट स्वर्गीय ढुण्डीराज शास्त्रीले जित्नुभएको थियो । २०५६ सालमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबीच भएको तालमेलपछि एकमा राजमोका डिलाराम आचार्य र दुईमा नेकपा एमालेका डिल्लीराज खनालले विजय हासिल गर्नुभएको थियो ।  

विसं २०६४ मा निर्वाचन क्षेत्र नं १ मा तत्कालीन माओवादीका टोपबहादुर रायमाझी र २ मा पुष्पा भुसालले जित्नुभयो भने २०७० मा १ मा माओवादीका टोपबहादुर रायमाझी र २ मा नेकपा एमालेका स्व दुमन सिंह थापाले । त्यसै गरी विसं २०७४ को निर्वाचनमा अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र कायम भयो । उक्त निर्वाचनमा नेकपा माओवादी र एमालेको गठबन्धनबाट माओवादीका टोपबहादुर रायमाझी विजयी हुनुभएको थियो ।  

विसं २०७९ को  निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुनुभयो । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई एक हजार ७३० मतान्तरले पराजित गर्नुभएको थियो । भुसालले ४० हजार ९४५ मत प्राप्त गर्नुभएको थियो ।

विसं २०७९ को निर्वाचनको नतिजा हेर्दा अर्घाखाँचीमा नेकपा एमाले नेपाली काँग्रेसभन्दा १० हजारभन्दा बढी मतले अगाडि छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको थियो । नेपाली काँग्रेसले २६ हजार ८६५ मत पाउँदै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै आठ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो भने नेकपा माओवादी केन्द्रले सात हजार ३४२ मत ल्याउँदै चौथो भएको थियो । राष्ट्रिय जनमोर्चाले पाँच हजार ३२७ मत र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ६७ मत ल्याएको थियो । 

उक्त निर्वाचनमा एमाले एक्लै र नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी प्रतिस्पर्धा गरेका थिए । एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा यस पटक अर्थात् यही फागुन २१ गतेको निर्वाचनका लागि नेपाली काँग्रेसबाट विष्णुप्रसाद खनाल र नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी परेको छ । 

त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, नेकपा माओवादीबाट खिमबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेल, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाह उम्मेदवार हुनुहुन्छ । 

त्यस्तै मङ्गल नेशनल अर्गनाइजेसन पार्टीबाट सूर्यबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट टुकबहादुर चेवाली, आम जनता पार्टीबाट दुर्गाबहादुर भाट क्षेत्री, नेशनल रिपब्लिक नेपालबाट विष्णुबहादुर गाहा तथा पम्फा श्रेष्ठ र हिमाल भुसाल स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । जसमा पुरुष ८७ हजार १५७ जना र महिला ८४ हजार ४९५ जना रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा १०२ मतदानस्थल र २०९ मतदान केन्द्र रहेका छन् ।प्रेमनारायण आचार्य/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button