तपाईँ सुन्दै हुनुहुन्छः

के चाहन्छन् काठमाडौ –४ का मतदाता ?

काठमाडौँ। निर्वाचनबाट छानिने प्रतिनिधिले सम्बन्धित क्षेत्रको विकासमा जोड दिनुपर्ने अपेक्षा मतदाताहरूको हुने गर्दछ । काठमाडौँ क्षेत्र नम्बर-४ का मतदाताहरू पनि विकासका साथै सामाजिक समस्याहरूको समाधान गर्न सक्ने नेतृत्व चुन्न  फागुन २१ गते कुरिरहेका छन् । 

निर्वाचनको मिति नजिकिँदै जाँदा आम मतदाताहरूबिच चासो र अपेक्षाबारे चर्चा र बहसहरू हुन थालेका छन् । चिया पसलदेखि चोक, पार्क र मन्दिरहरूमा जम्मा भएर मतदाताहरू  आफूले चुनेर पठाउने प्रतिनिधिले गर्नुपर्ने कामहरूको फेहरिस्तबारे चर्को बहस गरिरहेको सुन्न र देख्न पाइन्छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर-१, ७ , ८ र ३० का साथै बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर-१, २, ८ ,९, १०, ११, १२ र १३ अटाएको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरू आफूले जिताएको  उम्मेदवारले बाटोघाटो मर्मत सम्भारदेखि सरसफाइसम्मका काम गरिदिउन् भन्नेमा छन् ।

निर्वाचन क्षेत्र नम्बर-४ का ज्येष्ठ नागरिक मतदाता मैतीदेवी निवासी श्रीकृष्ण सिलवाल आफूले जिताएर पठाउने प्रतिनिधिले  विकासका लागि आएको बजेट हिनामिना नगरी  वृद्धा भत्ता बढाइदिए राम्रो हुने बताउनुहुन्छ ।  उहाँ ढल पानीको राम्रो व्यवस्था  गर्न अब आउने प्रतिनिधिलाई सुझाव दिनुहुन्छ । 

विभिन्न अवसरको खोजी गरेर देशभरबाट राजधानी आएका मानिसहरू अधिकांश अहिले काठमाडौँका स्थायी बासिन्दा भएका छन् । उनीहरूका आवश्यकता र चाहना पनि फरक हुनु स्वाभाविक हो । सोही क्षेत्रका मतदाता ज्ञानेश्वर निवासी भुवन खत्री पेसाले इन्जिनियर हुनुहुन्छ । त्यसको अतिरिक्त उहाँ होटेल व्यवसाय पनि सञ्चालन गर्नुहुन्छ । अबको नेतृत्वले आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने विचार उहाँ व्यक्त गर्नुहुन्छ । उहाँ उद्योग व्याबसायीलाई केही राहत हुने काम गरिदिए स्वदेशमै गरी खानेहरूलाई प्रोत्साहन हुने विचार व्यक्त गर्नुहुन्छ । 

यसअघिका निर्वाचनमा तीन पटकसम्म नेपाली काँग्रेसका नेता गगन थापाले जितेको निर्वाचन क्षेत्र नम्बर ४ मा काँग्रेसका  सचिन तिमल्सेना, एमालेका डाक्टर राजन भट्टराई, रास्वपाका पुकार बम र नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाल उम्मेदवार हुनुहुन्छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरेन्द्रराज भण्डारी, राष्ट्रिय जनमोर्चाका छविबहादुर खनाल, नेपाल मजदुर किसान पार्टीका आशालाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका चेतबहादुर आले प्रतिस्पर्धामा हुनुहुन्छ भने अरू नौ जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

काठमाडौँ क्षेत्र नम्बर ४ निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ७६ हजार एक सय ४१ जना मतदाता रहेका यस ं निर्वाचन क्षेत्रमा यसपटकको निर्वाचनमा   २८ जनाले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै ३३ वटा मतदानस्थलहरुमा जम्मा  ८८ मतदान केन्द्र तोकिएको छ । 

यस निर्वाचन क्षेत्रको मुख्य समस्या धोवीखोला हो । वर्षायाममा प्रत्येक वर्ष  आसपासका बस्तीहरूमा  क्षति पुर्‍याउने खोलामा हिउँदमा भने ढल बगेर वरिपरिको वातावरणलाई असर पारिरहेको हुन्छ ।  पहिलोचोटी मतदान गर्न लाग्नुभएकी स्नेह दाहाल चाहिँ धोवीखोला लगायतको  प्रदूषण रोक्न र वातावरण जोगाउन अब चुनिएर आउने प्रतिनिधिलाई सुझाव दिनुहुन्छ । 

मुलुकमा बेरोजगार युवाहरूको सङ्ख्या दिनदिनै बढ्दै छ ।  रोजगारी नपाएर युवाहरू खाँडी मुलुक धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी अब चुनिने व्यक्तिले काम गर्न सके मुख्य समस्या समाधान हुने अर्का युवा मतदाता सन्देश डाँगीको भनाइ छ । 

विकास भनेको सडक तथा ठूला भवनहरूको निर्माण मात्रै होइन ।  सहरभित्रको वातावरण स्वच्छ राख्नदेखि रोजगारीको अवसर सिर्जना गर्ने, सम्पदाहरूको उचित संरक्षण गर्ने, आर्थिक विकासलगायतका नीतिहरूको निर्माण गर्ने जस्ता कामहरूमा चुनिएका प्रतिनिधिहरूले संसद्मा आफूलाई कसरी प्रस्तुत गर्छन् त्यसबाट नै प्रतिनिधिको सही मूल्याङ्कन हुने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button