धनकुटामा प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत

धनकुटा । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ११ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ। प्रतिनिधिसभा तर्फ ५ जना र प्रदेशसभा तर्फ ६ जनाको जमानत जफत भएको हो। धनकुटामा प्रतिनिधिसभा तर्फ एउटा र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा प्रतिनिधि सभा तर्फ ७ जना उम्मेदवार रहेका मध्ये ५ जना तथा प्रदेश सभा तर्फ ११ जना उम्मेदवार रहेका मध्ये ६ जनाको जमानत जफत भएको हो।
जमानत जफत हुने प्रतिनिधिसभा तर्फ स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बु, मङ्गोल नेशनल अर्गनाइजेसनका विश्व मित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई रहेका छन्। प्रतिनिधिसभा तर्फ ६६ हजार ४ सय ४४ मत खसेकोमा ६६ हजार ७ सय २७ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ६ हजार ६ सय ७३ मत ल्याउनुपर्ने रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए। जसमा स्वतन्त्र भण्डारीले ५ हजार ९ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका थापाले १ हजार ५९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिम्बुले ६ सय २५, मङ्गोल नेशनल अर्गनाइजेसनका लावतीले २ सय १७ र एकीकृत शक्ति नेपालका राईले ९५ मत मात्रै ल्याएका छन् ।
यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र १ मा १ जना र निर्वाचन क्षेत्र २ मा ५ जनाको उम्मेदवारको जमानत जफत भएको हो। प्रदेश सभा निर्वाचन क्षेत्र १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मन कुमार राईको जमानत जफत भएको छ। यता प्रदेश सभा निर्वाचन क्षेत्र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम बहादुर गरुङ्ग, जनता समाजवादी पार्टी, नेपालका डम्बर बहादुर कटुवाल, स्वतन्त्र वालनन्द दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोम बहादुर घिसिङ तामाङ र स्वतन्त्र जीतेन्द्र राईको जमानत जफत भएको हो। प्रदेश सभा निर्वाचन क्षेत्र १ मा ३७ हजार ५ सय ५६ मत खसेकोमा ३६ हजार ४५ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ३ हजार ६ सय ५ मत ल्याउनुपर्ने रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। जसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राईले ५ सय ५४ मत मात्रै ल्याएका छन्।
प्रदेश सभा निर्वाचन क्षेत्र २ मा ३१ हजार ७ सय ८७ मत खसेकोमा ३० हजार ७ सय ११ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ३ हजार ७२ मत ल्याउनुपर्ने रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गरुङ्गले १ हजार ७ सय १५, जनता समाजवादी पार्टी, नेपालका कटुवालले ७ सय ७४, स्वतन्त्र दाहालले ६ सय ८६, ) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तामाङले २ सय ८८ र स्वतन्त्र राईले २ सय २१ मत ल्याएका छन्।
धनकुटामा प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्र कुमार राईले ३० हजार १ सय १ मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापाले २८ हजार ७ सय ४ मत ल्याए। यस्तै प्रदेश निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका निरन राईले १७ हजार १८ मत ल्याएर विजयी भए भने गठबन्धनका नेकपा एकीकृत समाजवादीका अर्जुन राईले १० हजार २ सय २५ मत ल्याएर दोस्रो भए। जनता समाजवादी पार्टी नेपालका रकम चेम्जोङले ८ हजार २ सय ४७ मत ल्याएर तेस्रो भए।
यता प्रदेश निर्वाचन क्षेत्र २ मा पनि नेकपा एमालेका इन्द्रमणि पराजुली १५ हजार ७ सय ९७ मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएर दोस्रो भइन्।







प्रतिक्रिया राख्नुहोस्