निर्वाचन बिथोल्नेप्रति शून्य सहनशीलता अपनाउँछौँ : गृह सचिव

काठमाडौँ । गृह मन्त्रालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
गृह मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सबै सुरक्षा प्रबन्ध मिलाएको जनाएको हो ।
पत्रकार सम्मेलनमा गृहसचिव विनोदप्रकाश सिंहले मतदानलाई असर गर्ने सबै गतिविधिमा शून्य सहनशीलता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।
गृह सचिव सिंहले मतदान केन्द्रको सुरक्षाका लागि तीन तहमा क्रमशः नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा रहने र कुनै अवाञ्क्षित घटना भएमा आधा घण्टा भित्रमा नेपाली सेनाको टोली पुग्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाएको बताउनुभयो ।

गृह मन्त्रालयले निर्वाचन बिथोल्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी केहीलाई नियन्त्रणमा लिई कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यस्तै, निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले देशका केही स्थानमा विष्फोटका घटनाहरू भएकोमा मन्त्रालय सचेत रहेको र त्यस प्रकारका गतिविधि नियन्त्रण गर्न तथा कुनै शङ्कास्पद बस्तु फेला परे नियन्त्रणमा लिन देशभरका ९ सय ३ स्थानमा नेपाली सेनाको विष्फोटक पदार्थ निष्क्रिय बनाउने टोली तयारी अवस्थामा राखेको गृहसचिव सिंहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्