तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा मतदानमा खटिएका मतदान अधिकृतले निर्वाचन सामाग्री बुझ्न थाले

जनकपुरधाम । धनुषाको विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले निर्वाचन सम्बन्धी सामाग्रीहरू बुझ्ने क्रम आज बिहानदेखि नै शुरु भएको छ । 

जनकपुरधामको निधि भवनमा रहेको मुख्य निर्वाचन अधिकृत तथा अन्य तीन वटा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सम्बन्धी ५२ प्रकारका सामाग्रीहरू बुझिरहेका छन् । 

यसैगरी सहायक कर्मचारीहरूले पनि निर्वाचनमा खटेबापत पाउने भत्ता पनि बुझिरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभएको छ । 

धनुषा जिल्लामा रहेको ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभाको निर्वाचन क्षेत्रमा गरेर ३ सय २२ मतदान स्थलमा ६ सय ५ मतदान केन्द्रहरू रहेका छन् । 

सबै मतदान केन्द्रका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूले निर्वाचनमा प्रयोग हुने सामाग्रीहरू रुजु गरेर बुझिरहेका छन् । 

निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतहरू खटिएको निर्वाचन क्षेत्रमा पुगेर निर्वाचन निर्देशिका तथा मतदान निर्देशिका अनुसार सूचना प्रकाशित गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

पाँच बजेसम्ममा मदिरा निषेधित क्षेत्र, चार किल्ला तथा मतदान केन्द्र तोकिएको विषयमा सूचना जारी गरिसक्नु पर्ने कानूनी व्यवस्था रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button