पोखरामा नक्कली सुन धितोमा राखी २४ लाख ठगी

कास्की । पोखरामा नक्कली सुन धितोमा राखेर कर्जा लिने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं १८ सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सुनारले नक्कली सुन धितोमा राखी पटक पटक पोखराका राष्ट्रिय वाणिज्य बैकहरूबाट कर्जा लिएको प्रहरीले जनाएको छ । उनले राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको पोखरा १७ बिरौटा शाखा र पृथ्वीचोकको शाखाबाट चौबीस लाख पाँच हजार रुपैयाँ कर्जा लिएको प्रहरीले जनाएको छ ।
उनले बिरौटा शाखाबाट सोह्र लाख साठी हजार र दोस्रो पटक पृथ्वीचोक शाखाबाट सात लाख पैँतालिस हजार कर्जा ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामो समयसम्म कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि शङ्का लागेर सुनारले धितो राखेको गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरि तयार गरिएको गरगहना पाइएको थियो ।
घटना खुल्नमा आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । पक्राउ गरी जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जनाइएको छ ।
अनुसन्धानको क्रममा सुनारले धितोमा राखेका गरगहनाहरू नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको लागि पठाइएको थियो । गरगहना नक्कली सुनबाट तयार गरिएको प्रतिवेदन प्राप्त भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्