विश्व मधुमेह दिवस: वीरगञ्ज महानगरद्वारा सेवाग्राहीको निःशुल्क स्वास्थ्य परिक्षण
वीरगञ्ज । विश्व मधुमेह दिवस आज वीरगञ्जमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले मधुमेह हेरचाहमा पहुँच भन्ने नाराका साथ महानगरपालिकामा सेवा लिन पुगेका सेवाग्राही तथा कर्मचारीहरूको निःशुल्क मधुमेह तथा स्वास्थ्य परिक्षण गरेको थियो ।
महानगरको सभाहलमा आयोजना गरिएको कार्यक्रमको नगर प्रमुख राजेशमान सिंहले आफ्नो रगत दिएर मधुमेह परीक्षणको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले तालिका बनाइ महानगरका सम्पूर्ण कर्मचारीहरूको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाई निर्देशन दिनुभयो । सो अवसरमा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरूको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताउनुभयो ।
मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसरमा हरेक वर्ष नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि मधुमेह अर्थात् चिनी रोगका बिरामीहरू दिनप्रतिदिन बढ्दै गएका छन् । छिटो–छिटो पिसाब लाग्ने, मुख सुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षण भएको र यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने कुरामा चिकित्सकहरूले जोड दिएका छन् ।
यसैबिच विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लब क्युरेटिभ र ग्रिन सिटी सामुदायिक प्रहरी केन्द्रको आयोजना आज वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा २ सय ५० जना भन्दा बढीको मधुमेहको परिक्षण गरिएको ग्रिन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले जानकारी दिनुभयो । रुंगटा वेयलफेयर सोसाइटीको सहयोगमा सम्पन्न शिविरमा डा.निरज सिंह, डा.रामअवतार खेतान, डा.जगदिश अग्रवालले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सिना, डिएसपी दीपक गिरी, विशाल मल्ल लगायत समाजसेवी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्