तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको विकास बिना मुलुकको समृद्धि सम्भव छैन : अध्यक्ष ओली

जुम्ला  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीको विकास बिना मुलुकको समृद्धि सम्भव नभएको बताउनुभएको छ । 

उहाँले एमाले नेतृत्वको सरकारबिना मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको भन्नुहुँदै राष्ट्रिय सीमा सुरक्षादेखि मुलुकको आर्थिक विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।  

कालिकोटको रास्कोटमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षा, नेपाल र नेपालीको रक्षा, कर्णाली प्रदेशको विकास, मुलुकको बेरोजगारी अन्त्य, आर्थिक वृद्धिदर, निःशुल्क शिक्षा स्वास्थ्यको सुनिश्चितताका लागि पनि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली भूमिको सुरक्षा, दुर्गमका नागरिकको जीवनस्तरमा सुधार, देशको दिगो विकास र युवाहरूमा रोजगारी बढाउने र समग्र मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनु अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो ।

उहाँले विगतमा एमाले नेतृत्वको सरकारले देशमा गरेको विकास निर्माण, नेपालीको आय स्तरमा वृद्धि र चीनसँगको पारवहन सम्झौताले नेपाललाई अग्र गतिमा लगिएको स्मरण समेत गर्नुभयो ।

उहाँले कर्णालीलाई मन्त्रीभन्दा विकास चाहिएकोले झुटा आश्वासन एमालेले नदिने भन्नुहुँदै जनताका मन जित्ने गरी काम गर्न आफ्नो पार्टी सधैँ कटिबद्ध रहेको उल्लेख गर्नुभयो । 

कर्णालीको विकासलाई पहिलो प्रथामिकतामा राखेर एमालेले विगतदेखि काम गर्दै आएको भन्नुहुँदै उहाँले अब पनि सोही अनुसार काम गर्नेमा प्रतिबद्धता गर्नुभयो ।

कालिकोट हुँदै दैलेख जिल्लाको चामुण्डाबिन्दा सैनी र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर अध्यक्ष ओली आजै काठमाडौँ फकिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button