तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा चल्ने सवारी साधनमा नयाँ भाडादर कायम

अछाम । अछाममा चल्ने साना सवारी साधनको नयाँ भाडादर कामय गरिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिको जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले पक्की, ग्राभेल र कच्ची सडकमा चल्ने यात्रुवाहक सवारी साधनको भाडादर तोकिएको हो ।
नयाँ तोकिएको भाडादरमा पक्की सडकमा प्रतिकिलोमिटर ७ दशमलव ५ रुपैयाँ तोकिएको छ । यस्तै ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ र कच्ची सडकमा १२ रुपैयाँ कायम गरिएको छ ।
तीन पटकको बैठकपछि नयाँ भाडादर कायम गरिएको हो । अछाम जिल्लाभित्र चल्ने सवारी साधनले मनोमानी चर्को भाडादर लिएको भन्दै यात्रुहरूको गुनासोपछि नयाँ भाडादर छलफलपछि तय गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनराज आचार्यले जानकारी दिनुभयो ।
नयाँ भाडादर तत्काल लागू हुने र यात्रुले सचेत भएर आफ्नो अधिकारको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।
बैठकमा समेत समितिका सदस्य, जनप्रतिनिधि र सरोकारवालाहरूले कानुन र नागरिकको मर्काका आधारमा भाडादर कायम गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेको अध्यक्षतामा बसेको बैठकले रातो प्लेट भएका सवारी साधनले यात्रु बोक्न नपाइने र तत्काल कालो प्लेटमा जान भनिएको छ ।
बैठकमा यात्रुबाट बढी असुल गर्ने, सिट क्षमता भन्दा बढी राख्ने, ट्राफिकको नियम पालना नगर्नेलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । अटो सञ्चालनमा सहजता ल्याउन स्थानीय तहमा दर्ता गर्नुपर्ने भएको छ । बैठकले निर्णय गरेपनि निर्णय कार्यान्वयनमा नागरिकले आशङ्का गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button