तपाईँ सुन्दै हुनुहुन्छः

‘गुणस्तरीय शिक्षामा निजी विद्यालयको योगदान महत्त्वपूर्ण’

जनकपुरधाम । सरकारको लगानी विना नै निजी क्षेत्रका विद्यालयहरूले नेपालको विद्यालय तहमा गुणस्तरीय शिक्षा दिन सफल भएको जनकपुरधाममा आज आयोजित कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ ।

जनकपुरधामको वडा नंं १६ मा स्थापित भएको मोर्डन ईङ्गलिस सेकेन्डरी बोडिङ्ग स्कुलको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रबाट सञ्चालित विद्यालयमा अभिभावकहरूको लगानी भएकाले ती विद्यालयहरू नै वास्तविक अर्थमा सामुदायिक विद्यालय भएको दाबी गर्नुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले नेपालको शिक्षामा पछिल्लो दुई दशक यता निजी क्षेत्रका विद्यालयहरूको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधार एवं विकास विना मुलुकको विकास एवं समृद्धि कठिन भएको बताउनुभयो ।

एन पेब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले निजी विद्यालयहरूमा राज्यको लगानी नभए पनि गुणस्तरीय शिक्षा दिनमा अब्बल सावित हुँदै आएको भन्दै शिक्षामा विभेदकारी कानून ल्याउन नहुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

विद्यालयका संस्थापक प्राचार्य चन्द्र नारायण मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा एन पेब्सनका उपाध्यक्ष भुलन मिश्र, प्रदेश अध्यक्ष सुजित कुमार मिश्र, एन पेब्सनका जिल्ला अध्यक्ष अबधेश तिवारी, पेब्सनका जिल्ला अध्यक्ष विनोद कुमार यादव सहितका वक्ताहरूले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button