तपाईँ सुन्दै हुनुहुन्छः

चौतर्फी विरोधपछि विद्यालयबाट धर्मशालामा सारियो निर्वाचन अधिकृतको कार्यालय

सप्तरी। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय रौनियार सेवा सदन धर्मशालामा सारिएको छ ।

विद्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको भन्दै चौतर्फी विरोध भएसँगै  सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले  विद्यालयबाट निर्वाचन अधिकृतको कार्यालय सार्न निर्देशन दिनुभएको थियो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्ले,सप्तरी जिल्ला निर्वाचन अधिकृत रमेश जोशी ,ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख  रामकुमार यादव र कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले  रौनियार सेवा सदन धर्मशालालाई निरीक्षण पश्चात् कार्यालय सारिएको हो । 

विद्यालयमा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या भएको एवम् आचारसंहिता समेतलाई मध्यनजर गर्दै उक्त निर्वाचन कार्यालय धर्मशालामा सार्न चौतर्फी दबाब परेको थियो । 

गत बिहीबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन अधिकृतको कार्यालय कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा स्थापना गरिएको थियो ।

निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले सर्वोदय विद्यालयमा तत्काल लागि कार्यालय स्थापना गरिए पनि सहज नभएकोले र साना साना बालबालिका विद्यार्थीहरूलाई पठनपाठनमा  समस्या पर्ने देखिएपछि कार्यालय रौनियार सेवा सदन धर्मशालामा सारिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button