तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी: ५० भन्दा बढी सिन्धुपाल्चोकबासी सम्पर्कविहीन, खोजी र उद्धारका लागि आफन्तको गुहार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको भीषण बाढीपछि सिन्धुपाल्चोकका पचासभन्दा बढी सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन भएकाहरूका आफन्तजनहरूले सामाजिक सञ्जालमार्फत आफ्ना मान्छे खोजी र उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ चौताराका राजकुमार श्रेष्ठ हिजो काठमाण्डौबाट प्रभावित क्षेत्र टिमुरेमा गएको तर हालसम्म पनि सम्पर्कमा नआएको हुनाले खोजी र उद्धारका लागि पहल गरिदिन श्रेष्ठको बुबा खड्कबहादुर श्रेष्ठ आग्रह गर्नभयो ।

सिन्धुपाल्चोकबाट व्यापार व्यवसाय, रोजगारी, नोकरी, धार्मिक यात्रा एवम् सवारी चलाकको रुपमा कार्य गर्न  प्रभावित क्षेत्रमा उनीहरू लामो समयदेखि बसोबास गर्दै आएका थिए । खास गरि सिन्धुपाल्चोकस्थित तातोपानी नाका विविध कारणले लामो समयदेखि बन्द भएपछि अधिकांश तातोपानी नाकासँग आश्रित व्यक्तिहरू केरुङ नाकामा स्थान्तरण भएका थिए । उनीहरू मध्य धरै जना  बाढी प्रभावित क्षेत्र स्याफ्रवेंशी टिमुर लगायतका क्षेत्रमा नै बसोबास गर्दै आइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो । जिल्लाबाट करिब ४ सय जनाको हाराहारी सो नाका वरिपरि कार्यरत रहेको जानकारी दिँदै अधिकांश त कन्टेनर चालक नै रहेको उहाँले बताउनु भयो ।  बाढीपछि ५० जनाभन्दा बढी नै सम्पर्कविहीन भएको विवरण आफूकहाँ आएको पनि उहाँले बताउनुभयो ।

 प्राप्त जानकारी अनुसार हालसम्म चौतारा साँगाचोकगढी नगरपालिका वडा न १ का जीवन जोन्छे, बलेफी गाउँपालिकाका कुमार खड्का, विशाल छडियाल, अच्युत भण्डारी,विशाल नेपाली राजु श्रेष्ठ, सन्तोष तामाङ, लामोसाँधुका निकोश श्रेष्ठ, रेशम श्रेष्ठ, राजन तामाङ हेलम्बुका सुमित तामाङ, सुनकोसीका रामशरण तिमल्सिना, प्रदीप कार्की, भोटेकोसीका पासाङ ग्याल्बु, दिलबहादुर लामिघाते, साङ्बु शेर्पा मेलम्चीका राजकुमार श्रेष्ठ, बाह्रबिसे ३ का सुविन्द्र खड्का, मेलम्ची ४ का नवराज रावत, हेलम्बुका विष्णु खतिवडा, बाह्रबिसे गातिका युवराज,पदम कार्की, रेशम थापा, श्रीकृष्ण श्रेष्ठ, बाह्रबिसे ७ कै क्रमशः  तिलक प्रधान, खेलबहादुर थापा, चित्रबहादुर देउजा, राजु थापा, रामबहादुर प्रधान, मिथुन थापा, शिव देउजा, चौतारा साँगाचोकगढी १२ का क्रमशः  सन्तोष खत्री, प्रल्हाद गिरी, दीपेन्दै गिरी, जीवन पुरी, राजकुमार पराजुली,भोटेकोसी, चाकुका राजन श्रेष्ठ, भोटेकासी १ का फ्युर ग्याल्बो शेर्पा, त्रिपुरा सुन्दरी १ का देवेन्द्र खड्का एवम् सिन्धुपाल्चोक घर भई प्रभावित क्षेत्रमा कार्यरत मनिश खड्का प्रकाश कार्की, सुकु खड्का, अच्युतम सापकोटा, ग्याल्बु शेर्पा, , सुविन श्रेष्ठ, जीवन पुरी, प्रकाश कायष्थ, पदम कार्की, निमदोर्जे पाख्रिन लगायत सम्पर्कमा नआएको परिवारजनले सामाजिक सञ्जालमार्फत जनाएको छ ।  

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरले सिन्धुपाल्चोक जिल्लाबाट प्रभावित क्षेत्रमा गएर बसोबास गर्नेहरुको बारेमा तथ्याङ्क सङ्कलन भइरहेको र उद्धार तथा सम्पर्कविहीनहरूको खोजी कार्यका लागि रसुवाका प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button