तपाईँ सुन्दै हुनुहुन्छः

‘निरन्तर शिक्षा’ कार्यक्रम सुरु

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरू निरक्षर भएका कारण जनतालाई पुर्‍याउनुपर्ने सेवा समेत प्रभावित हुने देखिएपछि महानगरका महिला जनप्रतिनिधिका लागि ‘निरन्तर शिक्षा’ कार्यक्रम सुरु गरिएको छ ।

व्यवसायीक पेशागत महिलाहरूको समूहले गरेको सर्वेक्षण अनुसार महानगरका ३२ वटै वडा र कार्यपालिका सदस्यहरूमध्ये अधिकांश महिला जनप्रतिनिधिहरू निरक्षर रहेकाले उनीहरुलाई साक्षर बनाउन कार्यक्रम सुरु गरिएको हो ।

महिला जनप्रतिनिधिका लागि आयोजित निरन्तर शिक्षा कार्यक्रमको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै मानव जीवन नै सिकाइको निरन्तर प्रक्रिया रहेकाले सिक्नमा लाज मान्न नहुने कुरामा जोड दिनुभयो ।

उहाँले महानगरको ग्रामीण क्षेत्रका केही महिला जनप्रतिनिधि बोल्न र आफ्ना कुरा राख्न सक्षम रहे पनि लेखपढ गर्न कमजोर रहेकाले उनीहरुलाई राम्रोसँग लेखपढ गर्न सक्ने बनाउन निरन्तर शिक्षा कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

नगर प्रमुख सिंहले सिकाइमा सहभागी महिला जनप्रतिनिधिहरूलाई कमसेकम कार्यालयले पठाएको पत्र र मोबाइलका म्यासेज पढ्न सक्ने बनाउन अभियानकर्मीहरूलाई आग्रह गर्नुभयो ।

जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्यका बारेमा पनि कार्यक्रममा अध्ययन गराउन आग्रह गर्दै नगर प्रमुख सिंहले निरन्तर शिक्षा कार्यक्रममा ग्रामीण क्षेत्रका अन्य निरक्षर महिला अगुवाहरूलाई समेत सहभागी गराउने गरी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्यले महिलालाई शिक्षित बनाए परिवार नै शिक्षित हुने भन्दै संस्थाले थालेको कदमको प्रशंसा गर्नुभयो ।

संस्थाले महिला जनप्रतिनिधिका लागि दैनिक दिउँसो २ बजेदेखि ४ बजेसम्म वीरगञ्जको ओम आश्रममा रहेको क्रेस इन्टरनेशन स्कुलमा कक्षा सञ्चालन गरेको संस्थाकी अध्यक्ष डा.विशेश्वरी शाहले जानकारी दिनुभयो ।

पहिलो चरणमा महानगरका १२ वटा वडाका महिला जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराइएको महिला नेतृ एवं प्राध्यापक डा. सुष्मा तिवारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button