तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्याङ्कीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन आयोजना कार्यान्वयन निर्देशनालय ले सबैलाई आग्रह गरेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँको आरुवारिमा निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिब ४ मिटर गहिराइमा खन्दा ट्याङ्कीको सुरक्षाका लागि निर्माण गरिएको आरसिसी पर्खाल भत्किन गई खानेपानी ट्याङ्कीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको जनाएको छ ।

तसर्थ, खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि यस आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रबन्ध गर्न सबैलाई आग्रह गरेको छ ।

आग्रह विपरीत डोजर लगाई खानेपानीका संरचनामा क्षति पुर्‍याउनेहरूले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति समेत तिर्नुपर्ने समेत स्पष्ट पारेको छ । 

काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको खानेपानी सर्वसुलभ रुपमा उपलब्ध गराउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नयाँ खानेपानी ट्याङ्की निर्माण गर्दै जाने क्रममा विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्याङ्कीको निर्माण कार्य जारी रहेको छ ।

जस अनुसार, तीनचुली महाङ्कालमा ८० लाख लिटर क्षमताको, न्यू महाङ्कालमा १३ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर, गोल्फुटारमा २ लाख १० हजार लिटर र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताका खानेपानी ट्याङ्कीहरू निर्माण भइरहेका छन् ।

यसअघि, काठमाडौँका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्याङ्कीहरू निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button