मतदाताको मन जित्ने गरि घरघरमा जानुपर्छ: उपसभापति खड्का
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा मतदाताको मन जित्ने गरि कांग्रेसका नेता तथा कार्यकर्ता घरघरमा जानुपर्ने बताउनुभएको छ ।

भक्तपुरको नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले काँग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ त्यो गर्नुपर्ने बताउनुभयो । उपसभापति खड्काले मत माग्न नरम, शालीन भएर मतदाताको मन जित्ने गरि जानुपर्नेमा जोड दिनुभयो ।
उपसभापति खड्काले मङ्सिर ४ को चुनावमा गठबन्धनसहित जाने भए पनि सिट बाँडफाँडको टुङ्गो भने अझै नलागेको बताउनुभयो ।
गठबन्धनमा सिट बाँडफाँड मिलाउँदा काँग्रेसले पाउने सिट घट्न सक्ने भन्दै उहाँले त्यस्तो अवस्थामा कतिपय कतिपय नेताले टिकट नपाउने अवस्थालाई बुझिदिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज अम्बिका बस्नेतले टिकट पाउन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वाभाविक भएको बताउनुभयो ।
काँग्रेस बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले काँग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताउनुभयो ।
काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्रेस पहिलो पार्टी भएको चर्चा गर्दै मङ्सिर ४ गतेको निर्वाचनमा पनि काँग्रेस अझै सशक्त भएर लाग्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको बताउनुभयो ।
सहभागीहरूलाई डा.गोविन्दराज पोखरेल र डा.स्वर्णिम वाग्लेले प्रशिक्षण दिनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्