भारतीय सेनाध्यक्ष पाण्डेद्वारा २२ करोड ३८ लाख बराबरका सैनिक सामग्री हस्तान्तरण

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रूपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ ।
विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयअनुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
समारोहमा उहाँले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गर्नुभएको थियो । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पार्टपुर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग स्वरूप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा आजै प्रधानसेनापति प्रभुराम शर्मासँग उहाँले भेटवार्तासमेत गर्नुभयो ।
पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आउनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।
उहाँले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षारोपणसमेत गर्नुभयो । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम छ ।
सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिति रहने जनाइएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।
नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।
विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको हो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।
यस्तो छ उहाँको भ्रमण तालिका
पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलवार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।
यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ । उहाँले शनिवार साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
भारतीय सेनाध्यक्ष पाण्डेले बुधवार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उहाँले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्