रञ्जन कोइरालाको मुद्दामा पारिवारिक प्रभावमा परेको जबराको स्वीकारोक्ति

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।
बयानका क्रममा जबराले सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दा फैसलामा आफ्नो कमजोरी भएको स्वीकार गर्नुभएको नेपाली कांग्रेसका सचेतक एवं समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।
रञ्जन कोइरालाको मुद्दामा कमजोरी भएकै कारण महाअभियोग लगाइएको हो भने माफी चाहन्छु भनेर जबराले समितिलाई बयान दिएको नेता विश्वकर्माले बताउनुभयो ।
आफ्नै श्रीमतीको बीभत्स हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष जेल सजाय घटाएर जबराले ८ वर्षमा झार्नुभएको थियो ।
समितिले तयार गरेको ४३ प्रश्न मध्ये आज ५ वटा प्रश्नमा जबराले बयान दिनुभएको हो ।
समितिको ३४ र नेपाल बार एसोसिएसनले पठाएको २१ वटा प्रश्नमा जबराको बयान लिन बाँकी रहेको समितिले जनाएको छ ।
नेपाली कांग्रेसका सचेतक विश्वकर्माका अनुसार समितिले बयान लिन तय गरेको कार्यतालिका परिमार्जन गरी छोटो बनाइएको छ । समितिले बयानका लागि जबरालाई भदौ २५ गते पुनः बोलाएको छ ।







प्रतिक्रिया राख्नुहोस्