‘समुन्नत राष्ट्र निर्माणका लागि समन्वयात्मक क्रियाशीलता जरुरी’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले तीनै तहका सरकारको समन्वयात्मक क्रियाशीलताले मात्रै राष्ट्रिय उत्पादन वृद्धि र समुन्नत राष्ट्र निर्माण गर्न सकिने बताउनुभएको छ।

संघ, प्रदेश र स्थानीय तह समन्वय विषयगत समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री बडूले सहकारितामूलक सङ्घीयता कार्यान्वयनको मूल आधार अन्तरसम्बन्ध र समन्वय नै भएकोले जनभावना र जनअपेक्षा अनुरूपको विकास एवं समुन्नतिका लागि तीनै तहका सरकारको समन्वयात्मक क्रियाशीलता अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय उत्पादन अभिवृद्धि र जनताको दैनन्दिनका आवश्यकता तथा समस्यासँग प्रत्यक्ष सम्बन्ध भएको उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध तीनै तहका विषयगत निकायले एकैसाथ क्रियाशील भए बजार, मूल्य तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहज हुने धारणा राख्नुभयो ।

मन्त्री बडूले अर्को महिनादेखि चाडपर्व सुरु हुन लागेकोले सबै तहले सोहीअनुसार अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, बजार अनुगमन, अवाञ्छित क्रियाकलाप हुन नदिन सचेत हुनुपर्ने र सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले आफ्नो क्रियाशीलता थप बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठ, प्रदेश एकका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गाम, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले धेरै अधिकार सङ्घमा रहेको र भएका अधिकार कार्यान्वयनका लागि समेत कानूनी, नीतिगत र व्यवहारगत अस्पष्टता रहेकाले प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार आफ्नो भूमिका निर्वाह गर्न कठिनाइ बेहोरिरहेको गुनासो गर्नुभयो।
उहाँहरूले प्रत्येक प्रदेशमा खाद्य प्रयोगशाला निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कर्मचारीको सहज व्यवस्थापन, औद्योगिक क्षेत्र तथा रुग्ण उद्योगहरूको अधिकार प्रदेशमा प्रत्यायोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (संघ) का सचिव, प्रदेश सचिवहरू, मन्त्रालयअन्तर्गतका विभिन्न विभागका महानिर्देशक, स्थानीय तहका प्रतिनिधिहरूले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्