तपाईँ सुन्दै हुनुहुन्छः

नगर प्रमुख सिंहद्वारा प्राधिकरण प्रमुख घिसिङसँग छलफल

वीरगञ्ज । वीरगञ्ज क्षेत्रमा विगत केही समयदेखि अनियमित रुपमा हुने गरेको लोडसेडिङ अन्त्यको माग गर्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको ध्यानाकर्षण गराउनुभएको छ ।

नगर प्रमुख सिंहले प्राधिकरणको केन्द्रिय कार्यालय काठमाडौँमा कार्यकारी निर्देशक घिसिङसँग भेट गरी उत्पन्न समस्याको बारेमा ध्यानाकर्षण गराउनुभएको हो ।

नगर प्रमुख सिंहले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झालाई पनि सँगै राखेर वीरगञ्जमा उत्पन्न विद्युतसम्बन्धी सबै किसिमका समस्याको समाधान गर्न प्रमुख कार्यकारी अधिकृत घिसिङसँग छलफल गर्नुभएको हो ।

अनियमित रुपमा हुने विद्युत् कटौतीको अन्त्य गर्नुपर्ने, सडक बत्ती व्यवस्थापनका लागि फिफ्थ वायर जडान गर्नुपर्ने, वीरगञ्ज महानगरमा भूमिगत तार व्यवस्थापन गर्नुपर्ने र पानीटंकी क्षेत्रको घरमाथिको हाईटेन्सन लाइन स्थानान्तरण गर्ने बारेमा मेयर सिंहले घिसिङको ध्यानाकर्षण गराउनुभएको थियो ।

वीरगञ्ज बाइपास क्षेत्रको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुका साथै वीरगञ्ज महानगर क्षेत्रको नाङ्गो तारलाई विस्थापित गरेर केबल वायर जडान गर्नुपर्ने विषयमा आफूले घिसिङसँग छलफल गरेको नगर प्रमुख सिंहले बताउनुभयो ।

नगर प्रमुख सिंहले उठाएका समस्याहरूको समाधानका लागि यथाशीघ्र प्रक्रियामा लैजान प्रमुख कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख झालाई निर्देशन दिनुभएको नगर प्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button