आयोगको उत्तर पुस्तिकामा मोबाइल लेखेर अनुरोध गर्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक
कर्णाली। प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ ।
आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८/०७८–०७९ को सहायक स्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी हिराराम रौलेका छोरा मास्टर आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।
आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिनुभयो ।
“परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटियो”, प्रवक्ता खत्रीले भन्नुभयो, “सो कसुर भेटिएकोले प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दफा३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्द गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाउने निर्णय भएको छ ।”







प्रतिक्रिया राख्नुहोस्