बाढीको पीडा: रातभरि अनिदो बस्छन् मालुखोलाका स्थानीय

दोलखा । गत साउन ९ गते बिहानी पख अविरल वर्षापछि आएको बाढी घरभित्र पसेपछि दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुखोलाका राम बहादुर खड्काको दैनिकी घरको पानी र हिलो फाल्ने काममै बित्ने गरेको छ ।
घरभित्र बाढी पसेपछि सुत्न र बस्न नै समस्या भएको छ, भएको सम्पत्ति सबै यही घरमा भएकोले छोडेर जान पनि सकिन्न त्यसैले रातभरि अनिदो बस्नु परेको छ – खड्काले भन्नु भयो । मालुखोला पुल नजिकै रहेको साढे दुई तले पक्की ढलानको घरमा बाढी पसेर क्षति भएपछि उनको सिङ्गो परिवार नै रातभरि त्रासमा बस्ने गरेका छन् ।
साउन ९ गते बिहान आएको बाढीले मालुखोला बजारका पक्की घर र कटेजहरु समेत १५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले जानकारी दिनु भएको छ । स्थानीय पीडितहरूले झण्डै तीन सय रोपनी खेतमा बाढी पसेर क्षति पु¥याएको बताएका छन् ।
मालुखोला बजारमा कुखुरा फार्म चलाएर बसेको सङ्गीता साही श्रेष्ठ अहिले दिनभरि फार्ममा पसेको हिलो हटाउँछिन् र साँझ परेपछि बजार भन्दा केही माथि फेदीमा रहेको घरमा सुत्न पुग्छिन् । बाढीले क्षति पुगेपछि आफूहरूको दैनिकी हिलो फाल्ने र नोक्सान भएको टहरा बनाउने कुरामै बित्ने गरेको सङ्गीताको भनाई छ ।
अहिले पनि दैनिक वर्षा भई रहेकोले बाढीको जोखिम कायमै छ त्यसै दिनभरि काम गरेर साँझ सुत्न फेदीमा रहेको गाउँको घरमा जानुपर्छ सङ्गीताले भन्नुभयो ।
स्थानीय लालबहादुर कार्कीका अनुसार साउन ९ गते बिहान त्यस्तै चार बजेतिर खोला ठूलो स्वरमा कराउँदै भूकम्पले हल्लाएको जसरी बजारमा बाढी पसेको थियो । बिहानी पख सबै बिउँझी सकेकोले मानवीय क्षति भने हुन नपाएको लालबहादुरले बताउनु भयो ।
मालुखोलामा २०३८ सालमा यसैगरी बाढी आएको र धेरै खेती बिगारी दिएको स्थानीय दिल बहादुर श्रेष्ठले सम्झनु भयो । त्यतिबेला यस्तो बजार थिएन आठवटा जति धन्सार घरमात्र थियो त्यसैले मानवीय क्षति भएको थिएन – दिल बहादुरले भन्नु भयो । यो पटक भने मालुखोला बजारको व्यवसायी, किसान र स्थानीय सबैको नोक्सानी भएको दिलबहादुरले बताउनु भयो ।
मालुखोलामा आएको बाढीबाट खाद्यान्न क्षति भएको स्थानीयलाई पाँच हजार र घाइतेलाई १० हजार नगद पालिकाको तर्फबाट दिइएको र वडा अध्यक्ष, निर्माण प्राविधिक, कृषि प्राविधिक सहितको टोलीले क्षतिको विवरण र अहिलेको अवस्थाको तथ्याङ्क लिई रहेको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले बताउनु भयो ।
प्राप्त विवरणको आधारमा पालिकाले के गर्न सक्छ त्यसबारे छलफल हुने र अहिले बाढी नियन्त्रणको लागि तत्कालीन तथा दीर्घकालीन काम समेत भई रहेको अध्यक्ष केसीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्