दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीर : अध्यक्ष बस्नेत

काठमाडौँ । नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई बिहीबार मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्नुपर्ने जनाएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गएको स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउनुभयो । उहाँले पत्रकारको सामाजिक सञ्जालको समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्ने, आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिका टिप्पणी गर्ने, आरोप प्रत्यारोप, दुष्प्रचार, चरित्रहत्या हुने किसिमका सामग्रीको सूक्ष्म अनुगमन गरी तत्कालै सचेत गराइएको जानकारी दिनुभयो ।
“अनुगमनबाट चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुराशययुक्त सामग्री सञ्जालबाट सम्प्रेषण हुँदा पहिलो चरणमा ‘क्वीक रेस्पोन्स’ स्वरूप टेलिफोनबाट सचेत गरायौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो । अब आउने निर्वाचनमा पनि गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्ति सञ्चार माध्यमबाट सम्प्रेषण हुनसक्ने भएकाले यसबारे काउन्सिलले आयोगसँग छलफल गरेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्