तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा अझै पनि ८ प्रतिशत महिला घरमै सुत्केरी

सल्यान । सल्यानमा अझै पनि ८ प्रतिशत महिला असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन् । 

गत आर्थिक वर्ष २०७८/०७९ मा ८ प्रतिशत अर्थात् २ सय ६६ महिला घरमै सुत्केरी हुने गरेको स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

जिल्लाभर ३ हजार ३ सय ६६ महिला सुत्केरी भएकोमा ३ हजार जना स्वास्थ्य संस्थामा सुत्केरी भएको र बाँकी २ सय ६६ महिला घरमै सुत्केरी भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । 

सुत्केरी व्यथा लागेर स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बीच बाटोमा नै सुत्केरी भएको खण्डमा तत्काल आमा र बच्चालाई स्वास्थ्य संस्थामा लगिए संस्थागत गणना हुन्छ यदि बिच बाटो बाटै घर फर्किए होम डेलिभरीको रुपमा मानिने उहाँको भनाई छ । 

घरमै असुरक्षित रुपमा सुत्केरी हुनेलाई शून्यमा झार्ने काम गरि रहेता पनि त्यो सफल हुन नसकेको डिसीको भनाई छ । “संस्थागत सुत्केरी हुन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम, गर्भ जाँचदेखि सुत्केरी हुन स्वास्थ्य संस्थासम्म आउँदा समेत सरकारले यातायातको सुविधा दिँदै आएको छ । तर पनि शून्यमा झार्न सकिएको छैन ।”, उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार जिल्लामा घरमा नै सुत्केरी हुने दर अघिल्ला वर्षहरूको तुलनामा केही कमी आए पनि उल्लेख्य मात्रामा भने कमी आउन सकेको छैन । आर्थिक बर्ष २०७६/०७७ मा जिल्लाभर ४ हजार ४ सय ३५ महिला सुत्केरी भएकोमा ३ हजार ७ सय ६९ जना संस्थागत सुत्केरी भए । बाँकी १५ प्रतिशत अर्थात् ६ सय ६६ जना महिला घरमा नै सुत्केरी भए । 

यस्तै, आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभर ४ हजार ५ सय ६६ महिला सुत्केरी भएकोमा ४ हजार ७८ जना संस्थागत सुत्केरी भए । बाँकी १० प्रतिशत अर्थात् ४ सय ८८ घर गर्भवतीहरू घरमा नै सुत्केरी भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button