हिमाको वृक्षारोपण अभियान: ५ वर्षमा साँढे २ लाख बिरुवा रोपिने
जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानको थालनी गरेको छ ।
‘ग्रिन रोड, ग्रिन नदी तथा नाङ्गा डाँडा पाखा हराभरा बनाउने’ हिमाको नीति अनुसार वृक्षारोपण अभियान थालिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

पञ्चवर्षीय योजना अनुसार हिमालाई हरियाली र जलवायु अनुकूल पालिका बनाउने अभियान अन्तर्गत हरेक वर्षको साउन महिनाभरि वृक्षारोपण अघि बढाइने छ ।
गाउँपालिकाले पाँच वर्षमा पालिकाभरि झण्डै २ लाख ५० हजार बिरुवा रोप्ने योजना प्रस्तुत गरेको छ । जलवायु अनुकूलन, बाढी र भूक्षय नियन्त्रण तथा वातावरण संरक्षण गर्ने उद्देश्यका साथ पाँच वर्षमा साँढे दुई लाख बिरुवा रोपिने अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

हिमाका ७ वटै वडाका विभिन्न बस्ती र डाँडा पाखालाई हराभरा बनाइने छ । सल्लो, देवदियार, किमी, ओखर, पिपल र बैँसका बिरुवाहरू रोपिने छ । लोपोन्मुख वन्यजन्तुको पनि वृक्षारोपण गरी वासस्थान सुरक्षित गरिने अध्यक्ष शाहीको भनाई छ ।
भू–तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाका प्रमुख शेखर चपाईले प्राकृतिक जन्य विपद् रोक्न तथा वातावरण संरक्षणका लागि हिमाले गरेको वृक्षारोपण कार्य प्रशंसनीय रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्