तपाईँ सुन्दै हुनुहुन्छः

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी

झापा । देशको पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तु निर्यात भएको छ भने रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तु आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८ हजार मेट्रिक टन अलैँची निर्यात भएको छ । नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो ।

दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको छ ।

सोही अवधिमा सबैभन्दा बढी बङ्गलादेशबाट रु तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ ।

चालु आव २०७८/७९ को जेठ मसान्तसम्ममा रु ९८ करोड ४३ लाख ६९ हजारको खाद्यान्न, रु एक अर्ब ३३ करोड ८१ लाख १४ हजारको दलहन (गेडागुडी), रु १४ करोड ७१ लाख ९० हजारको ताजा तरकारी, रु ४७ करोड ७७ लाख २२ हजारको ताजा फलफूल र रु एक अर्ब बढीको मसलाजन्य वस्तु आयात भएको साहुले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button