यार्सा सङ्कलन गरी घर फर्कने क्रममा भिरबाट लडेका बोहराको हेलिकप्टरबाट उद्धार

बझाङ । बझाङमा यार्सा सङ्कलन गरेर घर फर्कने क्रममा १ जना भिरबाट लडेर घाइते भएका छन् । घाइते हुनेमा साइपाल गाउँपालिका–४ धुली घर भएका ३६ वर्षीय शिबु रोकाया रहनु भएको छ । घाइते रोकाया चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । घाइते रोकाया बझाङको साइपाल गाउँपालिकामा पर्ने चाल्नाबनको भिरबाट लड्नुभएको हो ।
घाइते रोकायाको स्थानीयले उद्धार गरी धुली आधारभूत स्वास्थ्य चौकीमा उपचार भइरहेको भए पनि टाउको, निधार, घाँटी, अनुहारमा चोट भएकाले थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरी नेपालगन्ज पठाएको साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताउनुभयो । स्थानीयका अनुसार घाइते रोकाया केही महिना देखि साइपाल गाउँपालिकामा पर्ने यार्सा सङ्कलन क्षेत्र चाल्ना बनमा यार्सा टिप्न जानुभएको र शनिबार साँझ घर फर्कने क्रममा पानीले बाटो चिप्लो भएकाले भिरबाट लडेर घाइते भएको बताएका छन् ।
यस्तै साइपाल गाउँपालिका –३ काँडाका ३३ वर्षीय पूर्ण बहादुर बोहरा पनि ढोगदिना भन्ने जङ्गलकोमा दाउरा काट्ने क्रममा लडेर घाइते हुनुभएको छ । उहाँको काँडा आधारभूत स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको लासी प्रहरी चौकी लासीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्