आइसिपी भन्सार वीरगन्जमा १४ सय बढी हेभी सवारी साधन थन्किए
वीरगञ्ज । नयाँ सवारी साधन खरिदका लागि बैङ्कले लगानी गर्न रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट आयातित नयाँ गाडीहरू अहिले वीरगन्जको आइसिपी भन्सार यार्डमा थन्किएका छन् ।
विगत तीन महिनादेखि बैङ्कहरूले कर्जा लगानीमा रोक लगाएपछि भारत तथा तेस्रो मुलुकबाट आयातित हेभी गाडीहरू चेसिस एकीकृत जाँच चौकी ( आइसिपी ) यार्डमै थन्किएका हुन् ।
ठूला गाडीको चेसिसको मुख्य आयातकर्ता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख पार्थ राणाका अनुसार बैङ्कले गाडी कर्जामा रोक लगाएपछि आयातित गाडीहरू जाँचपास हुन नसकेको बताउनुभयो ।
अधिकांशले बैङ्कबाट कर्जा लिएर गाडी खरिद गर्ने हुँदा बैङ्कले कर्जा दिइरहेको बखत अर्डर गरिसकेका गाडीहरू आएको अवस्थामा यता बैङ्कले कर्जा लगानीमा रोक लगाएपछि आयातित गाडीहरू जाँच पास हुन नसकेर आइसिपीमै थन्किएको उहाँले बताउनुभयो ।
आइसिपी यार्डमा अहिले झण्डै १४ सयको हाराहारीमा नयाँ गाडी थन्किएका छन् । आइसिपीमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को मात्रै ९ सय भन्दा बढीको हाराहारीमा गाडी थन्किएका छन् ।
गाडी भन्सारमा थन्किए बापत सिप्रदीले प्रतिदिन २ करोडको हाराहारीमा भाडा तिर्नुपरेको सिप्रदीका प्रमुख राणाले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कको निर्देशनानुसार २०७८ फागुन महिनादेखि सवारी साधन खरिदका लागि बैङ्कहरूले कर्जा लगानीमा रोक लगाएपछि गाडी आयातमा मात्रै नभई व्यापार, व्यवसाय तथा घर निर्माण कार्य पनि अवरुद्ध भएको छ ।
सिप्रदी लगायत युनाइटेड ट्रेड सिन्डिकेट प्रा.लि., जियो मोटर्स प्रा.लि., ओमनी मोटर्स प्रा.लि. लगागतका आधिकारिक विक्रेता डिलरहरूले भारत तथा तेस्रो मुलुकबाट हेभी गाडी तथा चेसिसहरु आयात गर्दै आएका छन् ।







प्रतिक्रिया राख्नुहोस्