घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौँ।गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं ५ मा भएको यात्रुवाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।
जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग हेलिकोप्टरका लागि समन्वय भई कालिकोटमा रहेको हेलिकोप्टर उद्धारका लागि घटनास्थल नजिक पुग्दै गरेको जानकारी दिनुभयो । गृह मन्त्रालयका प्रवक्ता पोखरेलले मन्त्री खाणको निर्देशनपछि उद्धारका लागि हेलिकोप्टर व्यवस्था गरेर घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो ।
सर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको, ५ जनाको गम्भीर घाइते भएको र चार जना सामान्य घाइते भएको प्रजिअ शाहीले जानकारी दिनुभयो । मृतकको सनाखत भइसकेको छैन ।







प्रतिक्रिया राख्नुहोस्