विश्वव्यापी क्लीन अभियान अन्तर्गत सुन्दरीजलदेखि गोकर्णसम्म वाग्मती नदी किनारको सफाइ

काठमाडौँ । विश्वव्यापी क्लीन अभियान अन्तर्गत आज काठमाडौँको सुन्दरीजलदेखि गोकर्णसम्म वाग्मती नदी किनारको सफाइ गरिएको छ ।

We Love you Foundation ले आयोजना गरेको सफाइ अभियानमा वाग्मती प्रदेश सभा सदस्य एव प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौ भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाई अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा २ वटा रुख रोप्नु पर्नेमा जोड दिनुभयो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले घरबाट निस्कने फोहोरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिनुभयो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले स्थानीय तहको फोहोर पालिका आफैले व्यवस्थापन गर्नुपर्ने भन्नुहुँदै फोहोरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष शोभाकार घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षारोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताउनुभयो ।











प्रतिक्रिया राख्नुहोस्