तपाईँ सुन्दै हुनुहुन्छः

विश्व वातावरण दिवसमा हेटौँडामा साइकल र्‍याली

मकवानपुर । विश्व वातावरण दिवसका अवसरमा आज हेटौँडामा वातावरणीय सचेतना मूलक साइकल र्‍यालीको आयोजना गरिएको छ । 

हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा साइकल र्‍याली कार्यक्रम भएको हो । 

शनिबार हेटौँडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍याली चौघडा, हटिया, रातोमाटे, हेटौँडा बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । 

टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । 

कार्यक्रममा अध्यक्ष अधिकारीले टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको हरेक वर्षको जेठ २२ गते विश्व वातावरण दिवसलाई सप्ताहव्यापी रुपमा वातावरण संरक्षणका विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताउनुभयो । उहाँले वातावरण संरक्षणमा सबैको सहयोग आवश्यक रहेको समेत औँल्याउनुभएको छ । 

उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, हेटौँडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button