तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको सम्पूर्ण मतदान रद्द गर्ने निर्णय गरेको छ । 

साथै आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४१ को उपदफा (४) बमोजिम उक्त नगरपालिकाको यथाशीघ्र मतदान गर्ने मिति र समय तोकी मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।

त्यसैगरी नगरपालिकाको २०७९ वैशाख ३० गते भएको मतदान कार्यमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा तथा सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी उपरीक्षक दिपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरबाही गरेको निष्कर्ष समेत निकालेको छ ।

साथै निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकोले निजहरूलाई तीन दिन भित्र हटाई सो पदमा अन्य जिम्मेवार कर्मचारीलाई खटाई स्थानीय तह निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

साथै निजहरूलाई सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम विभागीय कारबाही गरी तीन महिनाभित्र आयोगलाई जानकारी गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३८ को उपदफा (१) बमोजिम गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय समेत गरेको निर्वाचन आयोगका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button