तपाईँ सुन्दै हुनुहुन्छः

ललितपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

ललितपुर । स्थानीय तह निर्वाचनका लागि ललितपुरका छ वटै पालिकामा सम्पूर्ण तयारी पूरा भएको छ ।

ललितपुरका छ पालिकाका २८८ मतदान केन्द्रमा रहेको १३१ मतदान स्थलमा एक हजार ४३३ जना कर्मचारी मतदान केन्द्रमा पुगेर मतदानको तयारी पूरा गरेको जिल्ला निर्वाचन कार्यालय ललितपुरकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिनुभयो ।

ललितपुरमा विसं २०७४ को निर्वाचनपछि अहिलेका निर्वाचनसम्ममा ३० हजार ८११ जना नयाँ मतदाताले मतदान गर्ने उहाँले जानकारी दिनुभयो । महानगर, नगरपालिका तथा गाउँपालिकाका सबै मतदान केन्द्रमा कर्मचारीले नयाँ मतदाता तथा परिचयपत्र हराएकालाई परिचयपत्र वितरण गर्ने, मतदाता शिक्षा दिने र भोलि हुने मतदानका लागि बुथ निर्माण कार्य गरिरहेको घिमिरेले जानकारी दिनुभयो ।

ललितपुरमा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक गरी कूल दुई लाख ४३ हजार ८८४ मतदाता रहेको उहाँले जानकारी दिनुभयो ।

ललितपुरमा ५० मतदान स्थल संवेदनशीलको सूचीमा रहेका छन् । भौगोलिक विकटता, यातायात, सञ्चार, जनघनत्व एवं विरोधीको गतिविधिका आधारमा संवेदनशील मतदान स्थलको सूची सुरक्षा संयन्त्रले तयार पारेको छ ।

त्यस्ता मतदान केन्द्रमा बढी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने बुथको सुरक्षामा घेरामा रहेर म्यादी प्रहरी पहिलो घेरा, नेपाल प्रहरी दोस्रो घेरा र सशस्त्र प्रहरीले तेस्रो घेरामा रहेर सुरक्षा दिने र नेपाली सेनाको टोली समेतको सुरक्षा व्यवस्था मिलाएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button