स्व अधिकारीको जन्म जयन्ती मनाइयो

पोखरा । नेकपा (एमाले) का तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रवीन्द्र अधिकारीको ५३ औँ जन्म जयन्ती मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं १८ राष्ट्रिय विभूति तथा सहिद पार्कमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा भएको श्रद्धाञ्जली सभामा एमाले स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख खगराज अधिकारीले स्व अधिकारीको योगदानको चर्चा गर्दै एक कुशल सङ्गठक तथा विकासका अभियन्ता भएको बताउनुभयो ।
स्व अधिकारी जस्तोसुकै कठिनाइमा पनि उत्कृष्ट र सही निर्णय लिन सक्ने तथा विचारको सही प्रवाह गर्न सक्ने नेताका रुपमा उहाँले चित्रित गर्नुभयो ।
एमालेका पोलिटब्यूरो सदस्य जगत विश्वकर्माले एउटा सङ्गठन र देश प्रति प्रतिबद्ध सशक्त युवा नेतालाई अल्पायुमै गुमाउनु पर्दा राष्ट्रले नै क्षति भोग्नुपरेका बताउनुभयो ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य विद्या भट्टराईले स्व अधिकारीको नाममा अक्षयकोष स्थापनाको काम सुरु भएको र त्यसबाट प्राप्त रकमबाट बर्षेनी विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गरिने जानकारी गराउनुभयो ।

सो अवसरमा ‘संसद्मा रवीन्द्र’ नामक पुस्तक प्रकाशन गर्ने लक्ष्य राखिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगित गर्नुपरेको र निर्वाचन लगत्तै सो काम सुरु गरिने उहाँले बताउनुभयो ।
एमाले कास्कीका नेता दामोदर वैरागी, प्रतिष्ठानका सचिव पुष्प ज्योति ढुङ्गाना, प्राध्यापक डा भरतराज पहारी, एमाले पोखराका नगर प्रमुख पदका उम्मेदवार कृष्ण थापा लगायतले स्व अधिकारीले राजनीतिक विकास र समाज विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । रासस







प्रतिक्रिया राख्नुहोस्