सार्वजनिक सेवालाई नतिजामुखी बनाउन सूचना प्रविधिको महत्पूर्ण भूमिका : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना र सञ्चार प्रविधिको क्षेत्रमा गुणात्मक विकासको नीति अपनाइएको बताउनुभएको छ ।
पाँचौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज ललितपुर स्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले सार्वजनिक सेवालाई नतिजामुखी बनाउन सूचना प्रविधिले महत्पूर्ण भूमिका खेलेको भन्दै सूचना प्रविधिको गुणात्मक विकासको नीति लिइएको बताउनुभयो ।

मन्त्री कार्कीले सूचना तथा सञ्चार प्रविधिलाई व्यवस्थित गर्न नीति निमार्णसंगै संयन्त्र विकास र सुधारका कार्यलाई उच्च प्राथमिकता दिइएको पनि बताउनुभयो ।
मन्त्री कार्कीले सूचना प्रविधिको विकास र विस्तारमा सार्वजनिक र निजी क्षेत्र लगायत सरोकारवाला निकाय सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सूचना प्रविधिका क्षेत्रमा पूर्वाधार विस्तार, गुणस्तर सुधार गरी सबैको पहुँच योग्य सूचना प्रविधिको विकास गर्न मन्त्रालय लागि परेको बताउनुभयो ।

कार्यक्रममा सूचना र सञ्चार प्रविधिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई नगद तथा प्रमाण पत्रद्वारा सम्मान गरिएको छ ।
नेशनल आइसिटी एक्सीलेन्स अर्वाड,२०७९ बाट लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष इन्जिनियर पङ्कज जलानलाई १ लाख रुपैयाँ नगद राशि र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
त्यस्तै नेशनल आइसिटी एक्सीलेन्स अर्वाड, २०७९ महिलातर्फ भक्तपुरकी रोजा किरण वासुकलालाई प्रदान गरिएको छ । उहाँलाई पनि नगद १ लाख रुपैयाँ र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै नेशनल आइसिटी इनोभेसन अवार्डबाट सिन्धुलीका शिवजन चौलागाँईलाई पनि नगद १ लाख रुपैयाँ र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
त्यस्तै नेशनल आइसिटी अवार्ड, २०७९ सार्वजनिक क्षेत्र तर्फको नेपाली सेना (सैनिक मुख्यालय) लाई प्रदान गरिएको छ भने नेशनल आइसिटी अवार्ड, २०७९ निजी क्षेत्र तर्फको अवार्ड इन्ग्रेल्स प्राइभेट लिमिटेड, ललितपुरलाई दिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्