तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री बडू र बङ्गलादेशका राजदूत चौधरीबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरी (H. E. Mr. Salahuddin Noman Chowdhury) ले शिष्टाचार भेट गर्नुभएको छ मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो।

छलफलमा राजदूत चौधरीले मन्त्री बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

राजदूतले दुई देशबिचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो। उहाँले नेपाल बङ्गलादेश बिचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली वस्तुहरूको बङ्गलादेश निर्यातमा सहजीकरण गर्न बङ्गलादेश सरकार तत्पर रहेको उल्लेख गर्नुभयो।

उहाँले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बङ्गलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्नुहुँदै ऊर्जा विकास, व्यापार, पर्यटन लगायतका क्षेत्रमा बङ्गलादेशले नेपालमा लगानी गर्न चाहेकोले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा मन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस अवसरमा मन्त्री बडूले कोभिड—१९ महामारीमा बङ्गलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो। यस प्रकारको सहयोगले दुई देशका सरकारबिच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताउनुहुँदै उहाँले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुवै देशले अधिकतम पारस्परिक लाभ उठाउन सक्ने विचार व्यक्त गर्नुभयो।

नेपाल र बंगालदेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष प्रवेशको अवसरमा राजदूत चौधरीमार्फत बङ्गलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै मन्त्री बडूले आगामी दिनमा दुई देशबिच वाणिज्य, पर्यटन, ऊर्जा लगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो।

मन्त्री बडूले दुई देशबिच हुने सौविध्यपूर्ण व्यापार सम्झौताका लागि छलफल भइरहेको र यसबाट दुवै देशलाई फाइदा हुने गरी व्यापार प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताउनुभयो।यससम्बन्धी बङ्गलादेश सरकारबाट प्राप्त प्रस्तावमा विभिन्न तहमा छलफल तथा विश्लेषणको काम भइरहेकोले चाँडै बङ्गलादेश पक्षलाई नेपालको राय पठाउने जानकारी गराउनुहुँदै माननीय मन्त्रीज्यूले नेपालमा ऊर्जा, पर्यटन र विकास पूर्वाधारका क्षेत्रमा हुने लगानीको संरक्षण र सहजीकरण गर्न नेपाल सरकार तयार रहेको समेत आश्वस्त पार्नुभयो।

कार्यक्रममा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिव लगायतका कर्मचारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button