तपाईँ सुन्दै हुनुहुन्छः

अछाम जिल्लामा कांग्रेस–माओवादी केन्द्र गठबन्धन 

अछाम । अछाम जिल्लामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी गठबन्धन गरेर जाने सहमति भएको छ । आसन्न वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भएको हो ।

जिल्लाका १० वटा पालिका मध्य २ पालिकामा अध्यक्ष माओवादीलाई दिने सहमति भए सँगै एकीकृत समाजवादी पार्टीलाई बाहिर राख्दै कांग्रेस–माओवादी गठबन्धन भएको हो ।

जसमा नेकपा माओवादीले रामारोशन गाउँपालिका र मेल्लेख गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ भने अन्य ८ वटा पालिकामा काङ्ग्रेसले प्रमुख पाएको छ ।

जिल्लाका ९१ वडा मध्ये ६१ काङ्ग्रेस र ३० वडामा माओवादीले अध्यक्ष पाउने सहमति समेत भएको माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउँदले बताउनुभयो ।
यसभन्दा अघि जिल्लाका सबै पालिकाहरूमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेका थिए । एक्लै चुनावमा जाने निर्णय गरेको काङ्ग्रेसले फेरि माओवादी सँग गठबन्धन गरेर जाने सहमति भएपछि काङ्ग्रेस नेता र कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह र माओवादी केन्द्रका संयोजक साउँदले सहमतिमा हस्ताक्षर गरेका छन् । काँग्रेसका केही नेताहरूले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सिङ्गल भिड्ने बताएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र सबै वडामा काँग्रेसले उम्मेदवारी दिने कांग्रेस अछामका पूर्व सहसचिव वेदप्रकाश तिमिल्सैनाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button