काँग्रेसलाई सर्लाहीका पालिकाहरूको उम्मेदवार छान्न सकस
सर्लाही । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेसलाई सर्लाहीको पालिकाहरूको उम्मेदवार छान सकस परेको छ ।
काँग्रेसले सर्लाहीका २० पालिकाहरू मध्ये अपराह्न १२ बजे सम्म ११ पालिकाको उम्मेदवारको नाम मात्र टुङ्ग्याएको छ भने बाँकी नौ पालिकाको नाम सार्वजनिक भएको छैन । नेपाली काँग्रेसको मधेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले सर्लाहीका ११ वटै नगरपालिकाका मेयर तथा उपमेयर पदको उम्मेदवार टुङ्गो लगाएको हो ।
नेपाली कांग्रेस प्रदेश समितिको बैठकले मलंगवा नगरपालिकाको मेयरमा पूर्व मेयर नागेन्द्र यादव, लालबन्दी नगरपालिकाको मेयरमा वासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रिन, ईश्वरपुर नगरपालिकाको मेयरमा मनोज कुमार आचार्य र उपमेयरमा रन्जिता चौधरी, हरिवन नगरपालिकाको मेयरमा रामप्रसाद मैनाली र उपमेयरमा सोनीकुमारी बोम्जनलाई उम्मेदवार तोकिएको छ ।
त्यस्तै, बागमती नगरपालिकाको मेयरमा जवाहार कुशवाहा र उपमेयरमा पदमा कोइराला, बरहथवा नगरपालिकाको मेयरमा विगु चौधरी र उपमेयरमा गङ्गा दाहाल, हरिपुर नगरपालिकाको मेयरमा गोपाल पंजियार र उपमेयरमा निलमदेवी यादव, हरिपूर्वा नगरपालिकाको मेयरमा विनोद कुमार साह र उपमेयरमा सुमित्रा देवी, कविलासी नगरपालिकाको मेयरमा ब्रहमदेव राय र उपमेयरमा पुनम कर्णलाई उम्मेदवार तोकिएको छ ।
यसैगरी, गोडैता नगरपालिकाको मेयरमा प्रदेश सभा सदस्य एवम् कांग्रेस सचेतक उपेन्द्र प्रसाद कुशवाहा, बलरा नगरपालिकाको मेयरमा कौशल सिंह, गोडैता, बलरा र मलंगवामा उपमेयर भने तय गर्न बाँकी रहेको श्रोतले जनाएको छ ।
केही बेरपछि सदरमुकाम मलंगवामा बस्ने बैठकले जिल्लाका ९ वटा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्षहरूको उम्मेदवार टुङ्गो लगाउने कांग्रेस सर्लाहीका सचिव नीरज कार्कीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्