तपाईँ सुन्दै हुनुहुन्छः

गाँउमा पहिलो पटक बिजुली बल्दा स्थानीय हर्षित

डडेलधुरा । डडेलधुरा भागेश्वरको चुडी गाउँमा पहिलो पटक बिजुली बल्दा स्थानीयहरू निकै हर्षित भएका छन् ।

लघु जलविद्युत आयोजना निर्माण गरी गाउँमा बिजुली बलेको हो । भागेश्वर गाउँपालिका –१ चुडी गाउँमा करिब १ करोड १५ लाख रुपैयाँ लागतमा चमा गाड सिँचाइ तथा लघु जलविद्युत् आयोजना सम्पन्न गरी बिजुली बालिएको निर्माण समितिले जनाएको छ ।

२८ घरधुरी रहेको चुडीका सबै घर, एउटा प्राथमिक विद्यालय र सामुदायिक भवनमा अहिले बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीय रातीको अँध्यारोबाट मुक्त भएका छन् । टुकी, झरो र स–साना सोलारको उज्यालोमा जीवन धान्न बाध्य स्थानीयको घरमा बिजुली बलेसँगै हर्षित भएका छन् ।

आयोजनाबाट बिजुली उत्पादन क्षमता साँढे नौ किलो वाट रहेको छ । तर गाउँमा अहिले करिब एक किलोवाट बिद्युत् मात्रै खपत हुन सकेको छ । बिजुली बलेसँगै गाउँमा मिल पनि सञ्चालन गरिएको छ । बिद्युत् गृहको एक कोठामा कुटानी, पिसानी र पेलानी मिल जडान गरी सञ्चालन गरिएको छ ।

नेपाल सरकार, भागेश्वर गाउँपालिका, अक्सफाम नेपाल र ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आर्थिक, प्राविधिक सहयोगमा आयोजना सम्पन्न गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button