तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिष्ठानसम्बन्धी अध्यादेशविरुद्ध मुख्यमन्त्रीलाई ध्यानाकर्षण

हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने गरी ल्याउन लागेको अध्यादेश विरुद्ध मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई ध्यानाकर्षण गराएको छ ।

नेकपा एमाले सम्बद्ध मकवानपुरका जनवर्गीय सङ्गठनहरूले प्रदेश सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भन्दै मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव स्किम श्रेष्ठमार्फत आज मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । मुख्यमन्त्री पाण्डे कार्यालयमा उपस्थित नहुनुभएपछि निमित्त प्रमुख सचिवमार्फत ध्यानाकर्षण पत्र बुझाइएको हो ।

प्रदेश सरकारको उक्त निर्णय फिर्ताको मागसहित आज एमाले निकट अखिल नेपाल महिला सङ्घ, रिटर्नी फेडेरेशन नेपाल, राष्ट्रिय युवा सङ्घ नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल खेलकुद महासङ्घ, प्रेस चौतारी नेपाल र नेपाल मुस्लिम इत्तेहाद सङ्गठन गरी ७ सङ्गठनहरूले संयुक्त रुपमा मुख्यमन्त्री कार्यालयमै पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बागमती प्रदेशको गौरवको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालको विरुद्धमा अध्यादेश ल्याउँदै सामान्य ५० शैयामा सीमित रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रूपान्तर गर्ने काम वर्तमान सरकारले रोक्नु खेदजनक रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button