तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा टाइफाइड विरुद्धको खोप अभियान सुरु

जाजरकोट । जाजरकोटमा ७६ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको छ ।

चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइन लागेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विद्यालयमा अध्ययनरत ६३ हजार र विद्यालय बाहिर रहेका १३ हजार बालबालिकालाई उक्त खोप दिइनेछ । जसका लागि विगतमा सञ्चालित खोप केन्द्रसँगै जिल्लाभरिका सबै ४ सय ४ खोप केन्द्र बनाइएको छ ।

शुक्रवार जाजरकोटको भेरी नगरपालिका १३, कुदुबाट टाइफाइड खोप अभियानको शुभारम्भ गरिएको छ । भगवती माध्यमिक विद्यालय कुदुमा आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गर्नु भएको हो ।

खोप अभियानको शुभारम्भ गदै संयोजक रावलले सबै बालबालिकालाई खोप अभियानमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

सरकारले देशभरका १५ महिना देखि १५ बर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ ।

जाजरकोटका सात वटा पालिकाका उक्त उमेर समूहका ७६ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button