बागमती गाउँपालिकामा भूमिहीन दलितलाई लालपुर्जा वितरण

मकवानपुर । संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्र पारिएको छ ।
मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनले जग्गा प्राप्त गर्ने गरी अभियान तीव्र पारिएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीनहरूले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले सुरु गरेको अभियानमा वास्तविक भूमिहीन कोही पनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले भूमिहीनलाई लालपुर्जा वितरण गर्ने क्रममा धेरै अवरोधहरू सिर्जना गर्ने काम भइरहेको भए पनि आफू संविधानमा व्यवस्था भएको भूमिहीनले एक पटक जग्गा पाउने हक कार्यान्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिने गरी काम गर्न सफल भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूमिहीनलाई लालपुर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुकै आए पनि अब यो लालपुर्जा कसैले खोस्न नसक्नेमा ढुक्क हुन समेत सबैलाई आग्रह गर्नुभयो ।
बागमती गाउँपालिकामा आज ३ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण गरेर सुरु गरिएको अभियान अन्तर्गत लगत सङ्कलन र विभिन्न वडामा रहेका भूमिहीन दलितहरूका लागि जग्गा नाप जाँचको काम भइरहेको छ ।
यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहीन दलित घरपरिवारलाई बुधवार लालपुर्जा वितरण गरिएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँ ब्लकमा रहेका २० हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्