तपाईँ सुन्दै हुनुहुन्छः

गरगहना चम्काउँदै ठगी : दुई भारतीय पक्राउ

सिन्धुपाल्चोक । गरगहना चम्काउने बहानामा ठगी गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक मेलम्चीबाट भारतको विहार प्रान्त घर बताउने वर्ष २१ को राजा कुमार साह र सोही स्थानका २४ वर्षका अनिल साहलाई पक्राउ गरेको हो ।

उनीहरूले मेलम्ची नगरपालिका वडा नं ९ चाङ्खु टोल बस्ने मान बहादुर तामाङ समेतका ८ जना मानिसहरूको घरमा गई सुनचाँदीका गरगहना तथा तामा पित्तलका भाँडाकुँडाहरू चम्किलो र सफा गरी दिने भन्दै गरगहना सफा गरी कम तौलको बनाएर ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।

चैत २३ गते साँझ सवा ५ बजेको समयमा ईन्द्रावती गाउँपालिका वडा नं ४ स्थित नवलपुर बजारमा फेला पारी नियन्त्रणमा लिई रितपूर्वक खानतलासी गर्दा निजहरूको साथबाट भाँडाकुँडा तथा सुनचाँदीका गर गहनाहरू सफा गरी सङ्कलन गरेको पानी बोतलसहित विभिन्न केमिकलहरू समेत फेला परेको छ ।

उनीहरूमाथि सिन्धुपाल्चोक जिल्ला अदालत चौताराबाट बिहीबार १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूले अन्यत्र स्थानहरूमा समेत ठगी गरेको हुन सक्ने भएकोले ठगिएका पीडित व्यक्तिहरूले प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button