स्थानीय तह निर्वाचनका लागि कर्णाली प्रदेशको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी निर्वाचन कार्यतालिका अनुसार तीव्रताका साथ भइरहेको जनाएको छ ।
सरकारी सञ्चार माध्यमका प्रमुख एवं प्रतिनिधिसँग आयोगमा आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले कणाली प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सकिएको र भोलिदेखि सुदूरपश्चिम प्रदेशको मतपत्र छपाइ शुरु हुने जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित ढङ्गबाट सम्पन्न गर्नु सबैको दायित्व भएकाले सम्पूर्ण स्रोत, साधन र जनशक्तिलाई स्थानीय तह निर्वाचनमा केन्द्रित गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले आफ्ना प्रकाशन र प्रसारण मार्फत निर्वाचनका सूचना र सन्देशलाई सकेसम्म सबै कार्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा बढी मत बदर हुने विगतको अनुभवका आधारमा यस पटक सकेसम्म बदर मत कम गर्नेगरी आयोगले मतदाता शिक्षा सञ्चालन गर्ने जानकारी दिनुभयो ।
त्यस अवसरमा रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्