तपाईँ सुन्दै हुनुहुन्छः

पुरातात्त्विक संरचना निर्माणको काम समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौँ ।  सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गर्नुभएको  छ ।

आज बिहान गर्नुभएको अनुगमनका क्रममा उहाँले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताउनुभयो । मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न निर्देशन पनि  दिनुभयो । 

मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थापनबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै  मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताउनुभयो ।  उहाँले अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नुपर्ने बताउनुभयो ।

अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले  पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी  दिनुभयो ।

उहाँले पुरातात्त्विक  र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको बताउनुभयो । 

आगामी असारसम्म आयोजनाको म्याद रहेकाले आफूहरू समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्रमुख प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button