तपाईँ सुन्दै हुनुहुन्छः

पढ्दै कमाउँदै कार्यक्रममा कर्णालीका २० वटा सामुदायिक विद्यालय छनोट 

छनोट भएको जुम्लाको नेत्रज्योती मावि, तस्बिर: सागर परियार ।

जुम्ला । पढ्दै कमाउँदै कार्यक्रममा कर्णाली प्रदेशका २० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रमका लागि कर्णाली प्रदेशका १० जिल्लाका २० वटा सामुदायिक विद्यालय छनोट भएका हुन् । 

चैत ८ गते बसेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र निर्देशक समितिको बैठकले देशभरका १ सय ४० वटा सामुदायिक विद्यालयलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट गरेको थियो । जसमा प्रस्तावना माग गरिएका विद्यालयहरूको विवरण अनुसार रितपूर्वक मापदण्ड पुगेका कर्णाली २० वटा विद्यालय छनोट भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा जारी परिपत्रमा उल्लेख छ ।

जसमध्ये जुम्ला हिमा गाउँपालिकाको नेत्र ज्योति मावि ओदी छनोट भएको हिमाका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार उक्त विद्यालयमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरिने छ । भने, विद्यालयमा कृषि पशुपालन सञ्चालनका लागि बजेट आउन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाई छ । 

त्यस्तै मुगुको सोरु गाउँपालिका स्थित जनज्योति मावि, हुम्लाको सर्केगाड गाउँपालिका स्थित लालीगुराँस मावि, डोल्पाको ठुलीभेरी नगरपालिकाको आदर्श मावि, कालिकोटको तिला गुफा नगरपालिकाको महादेव मावि छनोट भएका हुन् । 

साथै सुर्खेतका ३ गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय मावि, बराहताल गाउँपालिकाको जनज्योति मावि र पञ्चपुरी नगरपालिकाको सूर्य प्रकाश मावि छनोट परेको छ । जाजरकोटका २ जुनिचाँदे गाउँपालिकाको श्री माध्यमिक विद्यालय र छेडागाड गाउँपालिकाको जनप्रिय मावि, दैलेखका ३ दुल्लु नगरपालिकाको नरेश्वर उद्यमशीलता मावि, डुङगेश्वर गाउँपालिकाको सिता जनसहयोगी र चामुण्डा विन्दासैनी गाउँपालिका स्थित चामुण्डा मावि छनोट भएका छन् 

सल्यानका २ छत्रेश्वरी गाउँपालिकाका शारदा मावि र शारदा नगरपालिकाको शिव जनमावि विद्यालय, रुकुम पश्चिमका ५ सानीभेरी गाउँपालिका स्थित राप्ती ज्ञानोदय मावि, चौरजहारी नगरपालिकाको हिमालय मावि, मुसिकोट नगरपालिकाको प्रभात मावि, आठविसकोट नगरपालिकाको ज्ञानोदय मावि र त्रिवेणी गाउँपालिकाको जनप्रिय मावि विद्यालय गरी १० जिल्लाका २० वटा सामुदायिक विद्यालय पढ्दै कमाउँदै कार्यक्रमका लागि छनोट भएका हुन् । 

छनोट भएका विद्यालयमा कृषि,पशुपालन,माछा पालन,बेमौसमी खेती,च्याउ खेती, व्यवसायीक किट, मौरीपालन र बाली विज्ञान लगायतका विभिन्न उद्यमशीलताका कार्यक्रम छनोट भएका छन् । यस कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा आर्जन हुने र पढेपछि जागिर खानै पर्छ भन्ने गलत मानसिकताको अन्त्य हुने अपेक्षा गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button