तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न मन्त्री बडूको निर्देशन

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले लोकतन्त्र, कानुनी राज्य र संवैधानिक सर्वोच्चताको रक्षा गर्न विशेष परिस्थितिमा बनेको वर्तमान सरकारको दायित्व पूरा हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल न्याय सेवाअन्तर्गत नवप्रवेशी अधिकृतका लागि आयोजित सेवा प्रवेश तालिमको आइतबार काठमाडौँमा समापन गर्नुहुँदै मन्त्री बडूले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारीसहित बनेको वर्तमान सरकार कानुनको शासनमार्फत सुशासन कायम गर्न क्रियाशील रहेकोले यस कार्यमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले संविधानअनुसार तीनै तहको निर्वाचन गर्ने दायित्व पनि यही सरकारको काँधमा रहेकोले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि उच्च मनोबलका साथ कर्तव्यनिष्ठ भएर कार्यक्षेत्रमा खटिन कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री बडूले कानुन निर्माण, स्वतन्त्रतापूर्वक न्याय सम्पादन र कानुनको परिपालनाका लागि खबरदारी गर्ने दायित्व बोकेको न्याय सेवाका कर्मचारीहरूले नागरिक हितलाई केन्द्रमा राखेर काम गर्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।

‘आवधिक निर्वाचनबाट आउने सरकार बदलिरहन्छन् तर तपाईँहरू (कर्मचारी) स्थायी सरकारका प्रतिनिधि हो, त्यसैले लोकतन्त्र, कानुनी राज्य र सुशासन सुनिश्चितताका लागि कुशल कार्यसम्पादन र असल व्यवहारमार्फत जनताको विश्वास आर्जन गर्न सक्नुपर्दछ’ मन्त्री बडूको भनाई थियो ।

कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशक डा. तुलसी शरण सिग्देल र न्याय सेवा तालिम केन्द्रका प्रमुख बलसागर गिरीले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता वृद्धि हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button