गृहमन्त्री खाँणसँग राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिमण्डलको भेट
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले विश्व बैङ्कले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन पहल गर्ने बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई, सदस्य सचिव अनिता घिमिरे, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका निवर्तमान अध्यक्ष भोजराज श्रेष्ठसहितको टोलीसँगको भेटमा उहाँले सरकार शारीरिक अपाङ्गताका साथमा रहेको विश्वास दिलाउनुभयो ।
विश्व बैङ्कले २०७२ को भूकम्पमा परेर अपाङ्गता भएका २२९ जनालाई जीविकोपार्जन, सहायक सामग्री वितरण तथा आयआर्जनको वातावरण निर्माण गर्न नेपाल सरकारलाई रु ६ करोड ७० लाख उपलब्ध गराएको थियो । त्यो रकम गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषमा छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले कोषलाई प्राविधिक रूपमा सहयोग गर्न आग्रह गर्दै रकम प्राधिकरण मार्फत खर्च गरिने जानकारी दिनुभयो ।
गृहमन्त्री खाँणले यसअघि स्पाइनल इञ्जुरी भएकालाई सरकारबाट सहयोग स्वरूप मासिक रु पाँच/पाँच हजार दिने व्यवस्था मिलाउन पहल गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्